चैत ५, काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयमा अनुसन्धान गर्न गठित छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ। उद्घाटन समारोहका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते हुनुभएको थियो ।

घटनाको तत्कालीन छानबिनको आदेशपछि गृहमन्त्री लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गर्नुभएको थियो । समितिले घटनाको विस्तृत छानबिन गरी भविष्यमा यस्ता घटनाहरू पुनः दोहोरिन नदिन पूर्वसर्तकता र आवश्यक उपायहरूको समावेश गर्दै प्रतिवेदन गृह मन्त्रालयलाई बुझाएको बताइएको छ।
प्रतिवेदन प्राप्त गरेपछि गृहमन्त्री लेखकले प्रतिवेदनका विषयहरू कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन्।
समितिले विशिष्ट व्यक्तिहरूको सहभागिता रहने कार्यक्रमहरूको क्रममा उनीहरूलाई संवेदनशीलता ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्नुपर्ने, सुरक्षालाई प्राथमिकता दिनुपर्ने र मञ्चका कार्यक्रमहरूमा प्रज्वलनशील पदार्थहरूको प्रयोगमा पूर्ण रोक लगाउनुपर्ने लगायतका सुझाव दिएको छ।
समितिको प्रतिवेदनमा भविष्यमा यस्ता घटनाहरू रोक्नका लागि सुधार गर्नुपर्ने विभिन्न उपायहरूको पनि उल्लेख गरिएको छ। यस्ता कार्यक्रमहरू आयोजना गर्दा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति र प्रयोगमा रोक लगाउन, सुरक्षा मापदण्डका आधारमा सुरक्षित विकल्पहरूको उपयोग गर्न, बेलुन उडाउन हिलियम ग्याँस प्रयोग गर्न लगायतका सुझाव समावेश गरिएको छ।
समितिले सार्वजनिक कार्यक्रमहरूको सञ्चालन र व्यवस्थापनका लागि आयोजक पक्ष र सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्नुपर्ने, र स्पष्ट कार्यविधि तथा मापदण्ड तयार गर्नुपर्ने सुझावसमेत दिएको छ।