• २०८३ बैशाख २९ गते मङ्गलवार

धनुषामा इनारभित्र पुरुषको शव फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, धनुषा। धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासमा इनारभित्र एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार इनारभित्र सोही ठाउँका अन्दाजी ३५ वर्षीय नारायण घिसिङ्को शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले घिसिङ् शव आफ्नै घर छेउमा रहेको इनारभित्र भेटिएको बताउनुभयो । उहाँका अनुसार घटनाबारे सोमबार साँझ जानकारी प्राप्त भए पनि अध्यारोका कारण शव बाहिर निकाल्न सम्भव नभएपछि मङ्गलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको छ ।

शवलाई इनारबाट बाहिर झिकेर पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पतालमा पठाइएको जानकारी दिनुभयो । तत्काल मृत्युको कारण तथा घटनाबारे यकिनसाथ भन्न नसकिने तथा पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने र यस विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

यता मृतक घिसिङका पिता काजीसिंह घिसिङले छोरा चार दिनदेखि घरबाट हराइरहेको बताउनुभयो । उहाँले आफन्त तथा चिनेजानेका व्यक्तिहरूलाई फोन गरेर खोजी कार्य गरिरहेको अवस्थामा सोमबार साँझ घरका केटाकेटी इनार नजिक पुगेपछि सडेको दुर्गन्ध आएपछि इनारभित्र हेर्दा मानिसको जस्तो हातखुट्टा देखिएपछि प्रहरीलाई खबर गरिएको जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस