• २०८३ बैशाख २९ गते मङ्गलवार

मदन भण्डारी फाउन्डेशनको राष्ट्रिय सम्मेलन वैशाख १४ गते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । मदन भण्डारी फाउन्डेशनले चौथो राष्ट्रिय सम्मेलन गर्ने भएको छ। यही वैशाख १४ गते काठमाडौंको कार्की ब्याङ्क्वेटमा सम्मेलनको उद्घाटन सत्र आयोजना हुने भएको छ।

फाउन्डेशनकी अध्यक्ष उषा किरण भण्डारीका अनुसार, उद्घाटन सत्रमा फाउन्डेशनका संरक्षकसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि हुनुहुनेछ ।

सन् १९९९ मा नेपाल सरकारसँग दर्ता भई स्थापना गरिएको मदन भण्डारी फाउन्डेशन एक गैर नाफामुखी संस्था हो, जसले सामाजिक हित र जनकल्याणका क्षेत्रमा काम गर्दै आइरहेको छ।

जननेता मदन कुमार भण्डारीको विचार र मार्गदर्शनलाई आधार बनाएर यस संस्थाले उहाँका विचारहरूको संरक्षण, व्याख्या, विश्लेषण र प्रचारप्रसारमार्फत समाजसेवामा योगदान पुर्‍याउँदै आएको छ।

‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रणेता मदन भण्डारी नेपाली राजनीतिका एक नवप्रवर्तनकारी चिन्तक, उच्च राजनीतिक संस्कृतिका अग्रदूत तथा देशभक्ति, लोकतन्त्र र मानव अधिकारका दृढ पक्षधर हुनुहुन्थ्यो।

फाउन्डेशनले उहाँका विचारहरूलाई समय सान्दर्भिक रूपमा व्याख्या र विश्लेषण गर्ने मञ्चहरू प्रदान गर्दै आएको छ। साथै, सामाजिक क्षेत्रमा शिक्षासम्बन्धी कार्यक्रम, संस्कृतिको प्रवर्द्धन, अध्ययन तथा अनुसन्धानका विविध कार्यहरू पनि निरन्तर सञ्चालन गरिँदै आएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस