• २०८३ बैशाख ४ गते शुक्रवार

गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
काठमाडौँ, २८ कात्तिक ।  बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ ।
स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिनुभयो । औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको उहाँले बताउनुभयो । सोही स्वास्थ्य चौकीका ‘ल्याव असिस्टेन्ट’ नरेन्द्रसिंह विष्टले सामान्य सामाग्री पनि उपलब्ध नहँुदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्था आएको बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकीबाट औषधिलगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताउनुभयो । गाउँपालिकाले स्वास्थ्य उपकरणसहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरिद प्रक्रिया अघि बढाउन नसकिएको उहाँले जानकारी दिनुभयो ।
यहाँ आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते ‘जेनजी’ पुस्ताका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । सहमतिका लागि छलफल भए पनि कुनै सहमति हुन नसक्दा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रभावित भइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस