कार्तिक २४ , हेटौंडा । बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति पुगेपछि क्षतिपूर्ति र किसानका दीर्घकालीन माग सम्बोधनको लागि राष्ट्रिय किसान संजालद्वारा आयोजना गरिएको दबाबमूलक कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सो कार्यक्रम हेटौंडाको स्कुलरोडबाट सुरु भई बुद्धचोकसम्म र्याली निकालेर टुंगिएको थियो ।

कार्यक्रममा सहभागी किसानहरूले तत्काल पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा स्थायी समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । राष्ट्रिय किसान संजालका अनुसार बेमौसमी वर्षाले प्रदेशभरका किसानको धानबालीमा ठूलो क्षति पु¥याएको छ । क्षतिको विवरण संकलन गरी तत्काल क्षतिपूर्ति उपलब्ध गराउन संगठनले सरकारसमक्ष बलियो माग राखेको छ ।
साथै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा नापजाँच गरी लालपूर्जा वितरण प्रक्रियालाई गतिशील बनाउन भूमि आयोगलाई सक्रिय बनाउनु पर्ने माग पनि प्रमुख रूपमा प्रस्तुत गरिएको थियो । किसानले सहकारी तथा दुग्ध संस्थालाई बिक्री गरेको तर अझै भुक्तानी नपाएको दुग्धको बाँकी रकम तत्काल भुक्तानी गराउन सरकारलाई दवाब दिन पनि यो कार्यक्रम आयोजित गरिएको आयोजकले बताए ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामसरण आलेले सरकार किसान प्रतिको दायित्वबाट विमुख देखिएको उल्लेख गर्दै किसानको जीवन र उत्पादनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए ।