भदौ २५, चितवन। भरतपुर कारागारबाट करिब ६० कैदीबन्दी भागेका छन्, उनीहरूले तोडफोड र आगजनी गरेका थिए। कैदीबन्दीहरूले नाराबाजी र तोडफोड सुरु गरेपछि सुरक्षाकर्मी र उनीहरूबीच झडप भएको थियो।

फरार कैदीबन्दीहरूको खोजी भइरहेको छ र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी छ। चितवनको भरतपुर कारागारबाट बुधबार बिहान करिब ६० जना कैदीबन्दी भागेका छन्। कारागार प्रशासनका अनुसार उनीहरूले कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका हुन्।
कारागार प्रशासक रवीन्द्र ढुंगानाले दिएको जानकारीअनुसार, कैदीबन्दीहरूले बिहानैदेखि नाराबाजी र तोडफोड सुरु गरेका थिए। त्यसपछि उनीहरूले आगजनीसमेत गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। यस क्रममा कैदीबन्दी र सुरक्षाकर्मीबिच झडप पनि भएको थियो।
७४० जनाभन्दा बढी कैदीबन्दी रहेको उक्त कारागारमा १५० जना सुरक्षाकर्मी तैनाथ थिए। कैदीबन्दीहरूको तोडफोड र आगजनी नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूलाई हम्मेहम्मे परेको ढंगानाले बताए। फरार भएका कैदीबन्दीहरूको खोजी भइरहेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।