• २०८३ जेष्ठ २३ गते शनिवार

बर्दिवासमा गुञ्जियो हाँसोको उत्सव : ‘अब हाँस्छ बर्दिवास’ सफलतापूर्वक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २५, बर्दिवास । शनिबार बर्दिवासको गौतम होटल हास्य, व्यङ्ग्य र मनोरञ्जनको राजधानी जस्तै बनेको थियो । कारण, सिस्नुपानी नेपाल महोत्तरीले आयोजना गरेको गाईजात्रा विशेष महोत्सव ‘अब हाँस्छ बर्दिवास’।

कार्यक्रम सुरु हुनु अघिदेखि नै हलमा दर्शकहरूको भीड बाक्लिँदै गयो । मञ्चमा रङ्गीन पर्दा र उज्यालो बत्तीले उत्सवको संकेत दिइरहेका थिए । अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य र नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट उपस्थिति यस कार्यक्रमको गरिमा थियो । उपाध्यक्ष जीवनराज दाहालको स्वागत भाषणपछि सह–सञ्चालक विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले हाँसोको यात्रामा सबैलाई अघि बढाए ।

दर्शकमाझ कविता, गीत, नृत्य, जादु र प्रहसनको तुफान आयो । बेलबहादुर परियारको व्यङ्ग्यले पेट दुखाएर हसाँयो, कविता दाहालको कविताले भावुक बनायो, जीवनाथ पोखरेल र रमेश पौडेलको प्रस्तुतिले हलभरि तालीको वर्षा गरायो ।

होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, प्रगतिशील लेखक संघ अध्यक्ष नारायण घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अध्यक्ष रुद्रसेन विश्वकर्मा लगायतका व्यक्तित्वहरूको सहभागिताले कार्यक्रमको महत्व झन् बढायो ।

प्रमुख अतिथि सारदा देवी थापाले बर्दिवासलाई हास्यव्यङ्ग्यको महत्वपूर्ण थलोका रूपमा चिनाउने यस्ता कार्यक्रमको निरन्तरता आवश्यक भएको बताइन् ।

अन्त्यमा अध्यक्ष काफ्लेले सबै अतिथि, कलाकार, सञ्चारकर्मी र दर्शकलाई धन्यवाद दिँदै, “हाँसो, कला र चेतनाको यात्रा बर्दिवासबाट निरन्तर अगाडि बढ्नेछ” भन्ने विश्वास व्यक्त गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस