• २०८३ बैशाख २८ गते सोमवार

जेनजी आन्दोलन : संयमता र राष्ट्रिय एकता कायम राख्न सेनाको अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै संयमता अपनाउन सबैमा अपिल गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जारी गरेको अपिलमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरिएको छ।

आन्दोलनका क्रममा घाइते भएका विरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सेनाले विद्यमान अवस्थालाई थप जटिल हुन नदिन सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ। ‘देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो,’ सेनाको अपिलमा भनिएको छ, ‘यस विषम परिस्थितिमा संयमित रहन सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछौं।’

नेपाली सेनाले परिस्थितिको निरन्तर विश्लेषण भइरहेको जनाउँदै राष्ट्र र जनताको सुरक्षामा आफ्नो अटुट प्रतिबद्धता दोहोर्याएको छ।

545543576_1829148214674309_1758257845933519345_n

Sharing

प्रतिक्रिया दिनुहोस