जेठ २६, काठमाडौं । आइसिसी विश्वकप लिग टु को खेलमा स्कटल्याण्डसँग नेपाल पराजित भएको छ । स्कटल्याण्डसँग जितको नजिक पुगेर नेपाल पराजित भएको हो ।

अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा स्कटल्याण्डका तीव्र गतिका बलर सफियान सरिफले ललितनारायण राजवंशीलाई बोल्ड आउट गराउँदै २ रनको रोमाञ्चक जित निकाले । स्कटल्याण्डको डन्डीमा स्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाल २ रनले पराजित भयो । ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५०औं ओभरको अन्तिम बलमा ३ सय २१ रनमा अल आउट भएको हो । यो नै नेपालले ओडिआईमा बनाएको सर्वाधिक रन हो । यसअघि ओमानविरुद्ध सन् २०२३ मा नेपालले ३ सय १० रन बनाएको थियो ।
नेपालका लागि भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको अर्धशतकीय इनिङ खेले । भीम मेकान्जि जोन्सको बलमा आउट भए । चौथो विकेटका लागि भीमले आरिफ शेखसँग मिलेर ९४ रनको साझेदारी गरे । शेख ५५ बलमा ५ चौकाको सहयोगमा ३९ रनमा आउट भए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको सहयोगमा ५६ रन जोडे । सातौ विकेटका लागि सोमपाल कामीसँग दीपेन्द्रले १ सय ५ रनको महत्वपूर्ण साझेदारी गरे । सोमपाल ४४ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६७ रनमा आउट भए । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा सरिफले अनुभव प्रस्तुत गरे । उनले अन्तिम ओभरमा ४ रन खर्चिएर २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय २३ रनको विशाल योगफल तयार गर्यो । स्कटल्याण्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले १ सय १४ बलमा ६ चौका र ४ छक्कासहित १ सय २ रनको योगदान गरे । नेपालले अरु खेलमा जस्तै डेथ ओभरमा धेरै रन खर्चियो। पछिल्लो १० ओभरमा १ सय २३ रन खर्चेर १ विकेट लियो । करण र दीपेन्द्रले समान २ तथा ललितले १ विकेट लिए ।
८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १९ खेलमा २४ अंकका साथ दाेस्राे स्थानमा छ । नेपाल १५ खेलमा १० अंकका साथ सातौं स्थानमा छ । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।