• २०८३ बैशाख ७ गते सोमवार

शिव भगवानको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८२ ज्येष्ठ २६ गते सोमवार तदनुसार ई. सं. २०२५ जुन ०९ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८५, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : साँझ ०४:५७ बजे र चन्द्रास्त : भोलि बिहान ०३:३७ बजे, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) त्रयोदशी तिथि, बिहान ०९:२३ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, विशाखा नक्षत्र, दिउँसो ०३:४८ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, बिहान ०९:११ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
जोखिम र सङ्कटले भरिपूर्ण समय हो, यस अवधिमा नैराश्यता, दिकदारी र चिडचिडेपन बढ्नसक्छ । परिबन्द र बाध्यताका कारण आर्थिक बोझ बढ्नेछ, साथमा लगानी र दौडधूपको समुचित मूल्यसमेत प्राप्त हुनेछैन । चुनौतीभित्र अवसर खोज्ने समय छ । जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ, तर कागजपत्रमा सहीछाप गर्दा सतर्कता अपनाउनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूर्ण दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ । पारिवारिक सुखमा कमी देखिंदैन।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । परिवारमा चलिरहेको कुनै असमझदारी वा भ्रमको निवारण हुनेछ । प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र एउटा व्यक्ति दक्ष बन्न सक्दछ भन्ने ठानी आज जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहनेछ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । निर्णयात्मक काममा ध्यान केन्द्रित हुँदैन।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययनमा रुचि जाग्नेछ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ । आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । खातापातालाई दुरुस्त बनाइने छ, उठ्ती र सापटीको हिसाबमिलान गर्न सकिन्छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, दायित्व र जिम्मेबारीको बोध गर्नुका साथै आफ्नो कर्तव्यनिर्वाहप्रति सचेत हुने समय हो । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने छ । अनुभवको प्रयोग गरेमा ठोस उपलब्धि प्राप्त हुनेछ, प्रतिष्ठित जिम्मेवारी हातलागी हुने समय हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज त्यस्तो व्यक्तिसँग भेट हुनसक्छ, जससँग बाँकी जीवन बिताउन सजिलो हुनेछ । वैराग्य र निराशाका भाव मँडारिन सक्छन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कुनै प्रस्तावउपर विचार÷विमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ, अभिभावकको सहानुभूति मिल्नेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस