• २०८३ बैशाख ४ गते शुक्रवार

एनएसएल : पोखरा र धनगढीको बराबरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत २६, काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) को दुवै पटकको फाइनलिष्ट धनगढी एफसीलाई आज पोखरा थन्डर्सले गोल रहित बराबरीमा रोकेको छ । दशरथ रंगशालामा बुधबार धनगढीले तुलनात्मक रुपमा बढी आक्रमण गरेपनि गोल गर्न सकेन । प्रभावशाली खेलाडी आयुष घलान चोटका कारण अनुपस्थित रहेको खेलमा पोखराले आज गोल गर्ने गतिलो मुभ समेत सिर्जना गर्न सकेन ।

यता धनगढीले खेलमा अधिकांश समय पकड बनायो। केहि उत्कृष्ट अवसर पनि सिर्जना गर्यो । तर धनगढीका स्ट्राइकरहरुको प्रदर्शन फितलो रहयो। धनगढीले लगातार दोस्रो खेलमा गोल गर्न सकेन । खेलको आठौं मिनेटमा पोखराले अग्रता बनाउने मौकालाई सदुपयोग गर्न सकेन । सुरज ज्यू ठकुरीको क्रसमा समिर तामाङको फ्री हेडर क्रसबार माथिबाट बाहिरियो ।

१२ औं मिनेटमा धनगढी पनि चुक्यो। सर्जियो बारबोजाको क्रसमा दीपेश राईले बललाई भेट्टाउन सकेन्। ३५ औं मिनेटमा सर्जियोले पहिलो बारमा हानेको प्रहारलाई पोखराका गोल रक्षक गिलेम प्रिसोले उत्कृष्ट बचावट गरे।

४३ औं मिनेटमा पनि प्रिसो बाधक बने। रणदीप पौडेलको पासमा बक्स भित्रबाट दीपेश राईले हानेको प्रहारलाई प्रिसोले बचाइदिए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो। दोस्रो हाफमा पनि धनगढीले आक्रामणमा जोड दियो। तर स्ट्राइकरहरूले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। ५० औं मिनेटमा अहमद हिजाजीको हेडर सहजै गोल रक्षक प्रिसोले बचाए। ८० औं मिनेटमा हिजाजीले शतप्रतिशत गोल गर्ने सुनौलो मौका गुमायो। सर्जियोको थ्रु पासमा गोल रक्षक प्रिसोसँगको वान-भर्सेस-वानमा हिजाजी चुके। उनको प्रहारलाई प्रिसोले खुट्टाले बचाइदिए। खेल गोलरहित बराबरीमा सकियो।

चौथो खेलमा अपराजित रहे पनि यो बराबरी धनगढीको लागि महँगो सावित हुन सक्छ। उसले तीन खेलबाट मात्र ५ अंक बनाएको छ। यसअघि धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४-१ ले हराएको थियो। दोस्रो खेलमा भने ललितपुर एफसीसँग गोल रहित बराबरी खेलेको थियो।

यो बराबरीले दबाबमा आएको पोखराको प्ले अफ यात्रा निकै कठिन बनेको छ । उसले पाँचौ खेलबाट मात्र ४ अंक बनाएको छ । पहिलो खेलमा चितवन एफसीसँग २-० र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग ३-२ ले हारेको थियो । लगातारको दुई हारपछि पोखराले काठमाडौं रेजर्सलाई भने २-० ले हराएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस