चैत २७, काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ। २ सय २० रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा २ सय १ रन बनाउन सक्यो । रविन रविन्द्र र डेभन कन्वेले चेन्नईलाई बलियो सुरुवात दिलाए पनि त्यसपछिका सम्हालिन नसक्दा चेन्नईले हार बेहोरेको थियो।

शिवम् दुवे र महेन्द्र सिंह धोनीले इनिङलाई सम्हाले कोसिस गरेपनि त्यो पर्याप्त भएन । रविन्द्र र कन्वेले पहिलो विकेटका ६१ रनको साझेदारी गरे । रविन्द्रले ३६ रन र कन्वेले अर्धशतक बनाए। दुवेले ४२ र धोनीले २७ रन जोडे । पन्जाबका लोकी फर्गुसनले २ , यश ठाकुर र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले प्रियांन्स आर्यको शतकसँगै २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो। ओपनर प्रियांन्सले कीर्तिमानी रन जोडे। उनी क्रिजमा जमे। अन्य खेलाडीले उनलाई साथ समेत दिन सकेनन्। पहिलो पावर प्लेको समाप्तिमा पन्जाबले ७५ रन बनाएपनि ३ विकेट गुमाइसकेको थियो।
दोस्रो देखि छैटौं क्रमका ५ ब्याटरले दोहोरो रन छुन सकेनन्। ८३ रन जोड्दा ५ विवेट झरिसकेको थियो। प्रियान्स एक्लै क्रिजमा टिके र विष्फोटक ब्याटिङ गरे। प्रियान्सले ३९ बलमा नै शतक बनाउने क्रममा ७ चौका र ९ छक्का प्रहार गरे। उनी आइपिएलमा छिटो शतक बनाउने भारतीय खेलाडी बने।
सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान युसुफ पठानको नाममा रहेको छ। उनले सन् २०१० मा ३७ बलमा शतक प्रहार गरेका थिए। प्रियान्स यो सिजन शतक बनाउने दोस्रो ब्याटर हुन्। यसअघि सनराइजर्स हैदराबादका ईशान किशनले शतक बनाएका थिए। प्रियान्स ४२ बलबाट १ सय ३ रनको तारिफयोग्य इनिङ्स खेल्दै नुर अहमदको बलमा आउट भए। त्यसपछि सशांक सिंह र मार्को जानसेनले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे। सशांकले अर्धशतक बनाए। उनले ३६ बलमा अविजित ५२ र मार्कोले अविजित ३४ रन बटुले। बलिङमा चेन्नईका खालिद अहमद र रविचन्द्र आश्विनले समा २ विकेट लिए।
४ खेलमा ६ अंकसहित पन्जाब चौथो स्थानमा छ। ५ खेलमा २ अंकसहित चेन्नई नवौ स्थानमा छ। दिनको पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले हराएको थियो। ५ खेलमा ६ अंकसहित लखनउ पाचौं र ४ अंकसहित कोलकाता छैटौं स्थानमा छ।