चैत २६, कास्की। गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबारदेखि दोस्रो संस्करणको ‘केपी ओली कप राष्ट्रिय खुला टी–२० पुरुष क्रिकेट प्रतियोगिता’को सुरु हुँदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा खेलाइने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा कूल १६ टोलीको सहभागिता रहने छ । उद्घाटन खेल शनिबार पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लबबीच हुने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीका गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
समूह ‘ए’ मा सिइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर क्रिकेट क्लब र स्याङ्जा क्रिकेट क्लब तथा समूह ‘बी’ मा चितवन क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एसोसिएसन, गण्डकी हिरोज क्रिकेट क्लब र हिमालयन क्रिकेट एसोसिएसन रहेका छन् । समूह ‘सी’ मा लुम्बिनी खुकुरी क्रिकेट क्लब, मधेस प्रदेश क्रिकेट क्लब, हिमाल फ्रेन्ड क्रिकेट क्लब र कर्णाली एकेडेमी तथा समूह ‘डी’ मा सुन्दर हेरचाह क्रिकेट क्लब, आत्रेय क्रिकेट एसोसिएन, मालपोखरी क्रिकेट क्लब र होरिजोन क्रिकेट क्लब रहेका छन् ।
प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । यसैगरी ‘म्यान अफ दी सिरिज’ले रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याटरले जनही रु १० हजार प्राप्त गर्ने एकेडेमीका केन्द्रीय अध्यक्ष धु्रव आचार्यले जानकारी दिए । एकेडेमीका संरक्षक रहनुभएका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता आयोजना गरिएको हो ।
यसअघि पहिलो संस्करणमा सात प्रदेश र तीन विभागीय क्लबको सहभागिता रहेको थियो । उक्त संस्करणको उपाधि मधेस प्रदेशले जितेको थियो ।