मंसिर २१, काठमाडौं । पूर्वराजदूत प्रोफेसर सुरेन्द्रबहादुर श्रेष्ठको शनिबार निधन भएको छ । साउदी अरेबियाका लागि पूर्वनेपाली राजदूत ८९ वर्षीय श्रेष्ठको उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उहाँका छोरा सञ्जयले जानकारी दिनुभयो ।

भारतको इलाहावाद विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका श्रेष्ठले पाटन संयुक्त क्याम्पस, त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अध्यापन गराउनुभएको थियो । उहाँ सरस्वती कलेजका संस्थापकमध्येका एक हुनुहुन्थ्यो । उहाँले तत्कालीन लुम्बिनी र कोसी अञ्चलको अञ्चलाधीशको जिम्मेवारी तथा विश्व सम्बन्ध परिषद्का अध्यक्ष भई काम गर्नुभएको थियो ।
तत्कालीन विकेन्द्रीकरण आयोगमा काम गरेको अनुभव सम्हाल्नुभएका उहाँले विसं २०३७ पछि गठित संविधान आयोगको सदस्य भएर काम गर्नुभयो । इमान्दार, निर्भिक, न्यायप्रेमी र स्वच्छ छवीका श्रेष्ठ जाउलाखेलस्थित नेपाल प्रशासनिक प्रतिष्ठानका उपनिर्देशकबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।
उहाँले अमेरिकका विभिन्न विश्वविद्यालयका भिजिटिङ प्रोफेसरका रुपमा एक वर्षभन्दा बढी समय काम गर्नुभएको उहाँका छोरा सञ्जयले बताउनुभयो । नेपालको प्रतिनिधित्व गर्दै वार्षिक रुपमा संयुक्त राष्ट्रसङ्घ जाने प्रतिनिधिमण्डको विज्ञ सदस्यका रुपमा दुई पटक महासभामा भाग लिनुभएको थियो । उहाँको पार्थिव शरीर सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ ।