साउन २२, काठमाडौं । नेपाली युवालाई भारत लगी मृगौला निकालेर बिक्री गर्ने तीन जनालाई नेपाल प्रहरी मानव बेचबिखन विरुद्धको ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका समिर नेपाली, राकेश नेपाली र काभ्रेका राज कुमार परियार रहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

जिल्ला अदालत काठमाण्डौबाट तीनैजनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले एक हप्ताकाे म्याद लिएको छ । पक्राउ पर्ने तीनै जनाले भारतको नयाँ दिल्लीकाे चण्डिगढ र नोयडा लगायतका ठाउँमा लगेर मृगौला बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।
ब्यूरोका प्रवक्ता कुँवरका अनुसार गिरोहले हरेक व्यक्तिलाई पाँचदेखि सात लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्याउने गरेका थिए । गिरोहले आर्थिक अवस्था कमजोर भएका युवालाई लक्षित गरी धन्दा चलाएको पाइएको छ । मृगौला निकालिएका केही व्यक्ति प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले थप खोजी गरेको थियो ।