मंसिर १७, काठमाडौं । यस वर्षको ‘भुवनेश्वर प्रविधि पुरस्कार–२०८२’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले प्राप्त गर्ने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले हरेक वर्ष प्रदान गर्दै आएको सो पुरस्कार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई दिने निर्णय गरेको हो ।

नाष्टले कृषि विकास, वातावरण संरक्षण, जलस्रोत व्यवस्थापन, जैविक विविधता, शिक्षा, सेवा प्रवाह, सुशासन, पारदर्शिता, प्राविधिक सुविधा तथा समग्र विकासका विभिन्न सूचकमा सञ्चालन गरेको मूल्याङ्कनमा देशका सबै स्थानीयमध्ये दिक्तेल उत्कृष्ट भएको जनाएको छ ।
नाष्टका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा यही मङ्सिर १२ गते बसेको नाष्टको ४९औँ प्राज्ञसभाले सो निर्णय गरेको नाष्टले नगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ । पुरस्कारको राशि भने पत्रमा खुलाइएको छैन ।
नाष्टले प्रदान गर्ने यो पुरस्कार नगरवासीको सामूहिक मेहनत र प्रतिबद्धताका परिणाम भएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “नगरपालिकाले प्राप्त गरेको यो उपलब्धिलाई आगामी दिनमा कृषि, वातावरण, शिक्षा, सामाजिक समावेशीकरण, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा अझ प्रभावकारी काम गर्ने हौसला मिलेको छ । पुरस्कार ग्रहणका लागि नाष्टले यही मङ्सिर–२० गते राजधानी काठमाडौँ बोलाएको छ”, उहाँले भन्नुभयो, “यो सम्मान आफैँमा गर्विलो र ऐतिहासिक छ ।”