• २०८३ जेष्ठ ६ गते बुधवार

 काठमाडौँ महानगर र एसओएस बालग्रामबीच बालबालिकाको अस्थायी तथा वैकल्पिक स्याहारका लागि समझदारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

मंसिर १७, काठमाडौं ।  अस्थायी संरक्षण र वैकल्पिक स्याहारको आवश्यकता भएका बालबालिकाहरुको सर्वोत्तम हितमा काम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले एसओइस बालग्रामसँग सम्झौता गरेको छ । बुधबार महानगर उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र कार्यपालिका सदस्य महेश नेपालीको रोहवरमा सामाजिक विकास विभागका प्रमुख समिक्षा निरौला र बालग्रामका राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङ्ले हस्ताक्षर गरेका हुन् ।

बालग्रामका राष्ट्रिय निर्देशक गुरुङ्ले, ५३ वर्षदेखि बालबालिकाको संरक्षणमा काम गर्दै आएको संस्थाले महानगरपालिकासँग सहमति गरेर पहिलो पटक स्थानीय सरकारसँग सहकार्य गरेको बताए । वार्षिक २० हजार भन्दा धेरै बालबालिकाका काम सेवा गर्दै आएको बताउँदै उनले, बालबालिकाको सर्वोपरि हित बढाउनु नै सहकार्यको मुख्य ध्येय रहेको बताए ।

महानगरपालिका क्षेत्र भित्र जोखिममा परेका वा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको अस्थायी संरक्षण, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन, पुनःस्थापना, वैकल्पिक हेरचाह, परिवार सहयोग, सामाजिक सुरक्षा, सामाजिकीकरण लगायत सेवाका लागि समझादारी भएको हो ।

अभिभावक गुमाएका, गुमाउने जोखिममा रहेका, वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको जोखिम र आवश्यकता मूल्याङ्कनका आधारमा कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि दुवै पक्ष सम्मिलित समाजसेवी बालमनोविज्ञ सहितको संयुक्त टोलीले दिएको प्रतिवेदनलाई आधार मानिनेछ ।

यसरी जोखिममा देखिएका तर, जैविक परिवारसँग रहने वा बस्ने अवस्था रहेमा परिवार सबलीकरण कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पोषण र जीविकोपार्जन सहायता प्रदान गरेर जैविक परिवारको सरंक्षणमा रहने व्यवस्था मिलाउनेछ । जैविक परिवारसँग रहने वा बस्ने अवस्था नरहेमा पालनपोषण, शिक्षा, स्वास्थ्य लगायतको सुविधा सहित एसओएसद्वारा सञ्चालित परिवारमा आधारित हेरचाह कार्यक्रममा रहने व्यवस्था मिलाइनेछ ।

अन्य कुनै बालगृहको संरक्षणमा रहेका १४ वर्षभन्दा माथिका बालबालिकाको हकमा महानगरपालिकाको शिफारिसमा एसओएसले सञ्चालन गरेका व्यावसायिक तालिम केन्द्रमा उपलब्ध तालिमका विषय र सिट संख्याको आधारमा प्रशिक्षण प्रदान गरिनेछ । उद्धार गरिएका, अभिभावक गुमाएका र जैविक बाबुआमा पहिचान नभएका बालबालिकाको अस्थायी संरक्षणका लागि एसओएसको अस्थायी संरक्षण गृहमा वार्षिक १० जनाका लागि कोटा व्यवस्था गरी सेवा उपलब्ध गराउनेछ । यदि परिवार फेला नपरेमा वा परिवारमा फर्काउन बालबालिकाको सर्वाेत्तम हित अनुकुल नभएमा हुने नदेखिएका बालकालिका, अपाङ्गताका कारण विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुलाई स्वास्थ्य, शिक्षा, स्याहारलगायत सेवा प्रदान गरिनेछ ।

वैकल्पिक स्याहार, बाल संरक्षण लगायतका विषयमा पृष्ठपोषण, नियमित समीक्षा बैठक, तालिम, बाल गृहहरूका हेरचाहकर्ता र व्यवस्थापकका लागि तालिम सञ्चालन गरिनेछ ।

यसरी प्रदान गरिएको सेवाका बारेमा दोस्रो पक्ष (बालग्राम) ले पहिलो १५ दिनमा एक पटक र त्यसपछि हरेक ६ महिनामा बालबालिकाको स्थिति प्रतिवेदन बुझाउनु पर्नेछ । दोस्रो पक्षको संरक्षणमा रहेको बालबालिकाको घटना व्यवस्थापन गर्दा आवश्यक कागजात, अभिलेखीकरण तथा पारिवारिक भेटघाट गराउन आवश्यक पर्ने समन्वय महानगरपालिकाले गर्नेछ । यो समझदारी आजैदेखि आउँदो ५ वर्षसम्मका लागि भएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस