बैशाख २०, काठमाडौं । एपिएफ फुटबल क्लबले बागमती प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ। अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै एपिएफले लगातार दोस्रो साता उपाधि जितेको हो। गत साता नेपालगन्जमा भएको लुम्बिनी कपको फाइनलमा पनि एपिएफले पुलिसलाई हराएको थियो।

बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको फुटबल मैदानमा भएको खेलको इन्ज्युरी समयमा अनिता केसीले गरेको गोलमा एपिएफ च्याम्पियन बनेको हो। इन्ज्युरी समयको छैटौं मिनेटमा कप्तान अनिता बस्नेतको कर्नरमा अनिता केसीले हेडमा गोल गरिन् । पछिल्लो पछिल्लो ४ महिनामा एपिएफले एन्फा लिगसहित ५ वटा उपाधि जितेको छ। लिग पछि इलाम र चितवनमा पनि एपिएफ च्याम्पियन बनेको थियो।
मुख्यमन्त्री कपको एपिएफले उपाधिसहित ५ लाख र पुलिसले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । नुवाकोट जिल्ला खेलकुद विकास समितिको मुख्य आयोजना तथा नुवाकोट जिल्ला फुटबल संघ सहयोगमा प्रतियोगिता बैशाख १३ गते सुरु भएको थियो।
बागमती प्रदेश खेलकुद परिषदले मुख्य संरक्षक र विदुर नगरपालिका संरक्षक प्रतियोगितामा ३ विभागीय टोलीसहित ८ टोलीको सहभागिता थियो।