चैत २१, काठमाडौँ । एनसेल नेपाल सुपर लिगको तेस्रो संस्करणमा काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवै टिमको यो लगातार दोस्रो बराबरी नतिजा हो ।

Ncell Nepal Super League 2025:
Match between Jhapa FC and Kathmandu Rayzrs FC at Dasharath Stadium in Kathmandu on Thursday 03.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production
दशरथ रङ्गशालामा भएको खेलमा तुलनात्मक रूपमा काठमाडौंले गोल गर्ने मौका बढी सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । काउन्टर अट्याकमा झापाले केही अवसर सिर्जना गर्दै काठमाडौंलाई समस्या भने दिएको थियो ।
पाँचौं मिनेटमा काठमाडौंले उत्कृष्ट मौका गुमायो । अमानडो डियोपले एकल प्रयासमा बललाई अगाडि बढाएर बक्स भित्रबाट हानेको प्रहार क्रसबारमा लाग्यो ।
२७ औं मिनेटमा डियोपले कट ब्याकमा दिएको पासमा नेेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर जिलेस्पी जंग कार्कीको प्रहार आकाशियो । उनले टिमलाई अग्रता दिलाउने राम्रो अवसर खेर फाले । झापाले भने गतिलो पोष्ट चार्ज समेत गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकियो ।
दोस्रो हाफ सुरू भएको पहिलो मिनेटमा नै झापाले उत्कृष्ट मौका सिर्जना गर्यो । अलहाजी गेरोको कट ब्यकमा आरसिस लजारले बक्सको एकबाट हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले उत्कृष्ट बचावट गरे । उनले काठमाडौंलाई गोल खानबाट जोगाए ।
६६ औं मिनेटमा काठमाडौंका जिलेस्पीको क्रसमा झापाका गोलरक्षक नेमान्जा लेमाजिकको औंलामा लागेर गएको बलमा क्लोज रेन्जमा रहेका डियोपले बललाई कनेक्ट गर्न सकेनन् ।
इन्जुरी समयमा झापाले अग्रता बनाउने मौका चुकायो । आरोन थापाको प्रहार क्रसबारमा लागेर फर्कियो । इन्जुरी समयमा झापाका किपर नेमान्जा काँधमा लागेको चोटका कारण बाहिरिए । उनलाई अञ्जल श्रेष्ठले प्रतिस्थापन गरे । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा झापा र काठमाडौंले १/१ अंकमा चित्त बुझाए ।
दुवै टिमको यो लगातार दोस्रो बराबरी खेल हो । पहिलो खेलमा काठमाडौं ललितपुरसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । झापाले बुटवल लुम्बिनीसँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा पनि झापाले गोलको खाता खोल्न सकेको छैन ।
काठमाडौं र झापा दुवैले दुई खेलबाट समान २ अंक जोडेका छन् । भोली एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ ।