असार १८, काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) ले नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको ‘मिलेनियम च्यालेन्ज एकाउन्ट’ (एमसीए–नेपाल) ले स्वागत गरेको छ । यसअघि असार ४ गते अमेरिकी दूतावासले विज्ञप्ति निकालेर एमसीसी परियोजनालाई निरन्तरता दिने जनाएको थियो । तर एमसीए–नेपालले आज विज्ञप्ति निकालेर निर्णयको स्वागत गरेको हो ।

विज्ञप्तिमा अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई निरन्तरता दिनका लागि अनुमति दिने सम्बन्धमा अमेरिकी सरकारबाट भएको निर्णयको एमसीए–नेपालले स्वागत गरेको उल्लेख छ ।
एमसीए–नेपालले २ सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसीसीसँग निकटतापूर्वक काम गरिरहेको छ ।