आज वि.सं. २०८२ वैशाख १९ गते शुक्रवार तदनुसार ई. सं. २०२५ मई ०२ तारिख, सिद्धार्थ नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२६, शाके १९४७, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, चन्द्रोदय : बिहान ०९:२८ बजे र चन्द्रास्त : बेलुका ०९:३८ बजे , सूर्योदय : बिहान ०५:२६ बजे र सूर्यास्त : साँझ ०६:३८ बजे, वैशाख शुक्लपक्ष (वछलाथ्व) पञ्चमी तिथि, दिउँसो ०२:५१ बजेसम्म, त्यसपछि षष्ठी तिथि, आर्द्रा नक्षत्र, साँझ ०६:३३ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, चन्द्रमा मिथुन राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । सामाजिक सम्बन्धमा विस्तार हुनेछ र प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीसँगको सम्बन्धमा सुधार आउने छ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
व्यक्तित्व विकासको राम्रो अवसर प्राप्त हुनेछ, कुनै यस्तो व्यक्तित्वसित चिनजान वा मित्रता हुनेछ, जसबाट तपाईंले आत्मबल र प्रेरणा जुटाउन सक्नुहुन्छ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । सिनियर्सलाई रिझाउन नसके पनि सहकर्मी साथीहरूको सहयोगले कुनै महत्त्वपूर्ण काम सम्पादन हुनेछ । सोखका निमित्त दैनिक खर्चमा बृद्धि हुनसक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । प्रतीक्षित इच्छा र आकाङ्क्षाको परिपूर्ति हुने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
महत्त्वाकाङ्क्षा र असम्भव आशामा अल्झिएर बस्नु राम्रो होइन, घरपरिवारको खुसीका लागि बित्दो काम भए पनि समय निकाल्नु बुद्धिमानी हुनेछ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ, त्यस्तै पारिवारिक प्रयोजनमा पनि केही समय खर्च हुनसक्छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पर्द्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला ।