चैत २०, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । घरेलु मैदान जारी खेलमा बेंगलुरुले गुजरातविरुद्ध १ सय ६९ रनको योगफल तयार गरेको हो ।

बेंगलुरुस्थित एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ योगफल तयार गर्यो । बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोडे । जितेश शर्मा २१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३३ रनमा आउट भए । टिम डेबिड १८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रनमा आउट भए ।
ओपनर फिल साल्ट १३ बलमा १ चौका र १ छक्काको सहयागमा १४ रनमा आउट भए । कप्तान रजत पाटीदार १२ बलमा १२, कुर्नाल पाण्ड्या ५ बलमा ५ तथा विराट कोहली ६ बलमा ७ रन जोड्दै आउट भए । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ ।
गुजरातका लागि मोहम्मद सिराजले ३, साई किशोरले २ तथा प्रसिद्ध कृष्णा, अर्शद खान र इशान्त शर्माले समान १ विकेट लिए । बेंगलुरुले प्रतियोगिताको पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो ।
भने, दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा पराजित गरेको थियो । बेंगलुरु ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गुजरातले खेलेको २ खेल मध्ये १ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रा खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।
बेंगलुरु र गुजरातबीच आइपिएलमा हालसम्म ५ खेल भएको छ । जसमा बेंगलुरु ३ खेलमा विजयी हुँदा २ खेलमा गुजरातले बाजी मारेको छ ।