चैत २०, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध गुजरात टाइटन्सले टस जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गुजरातका कप्तान शुभमन गिलले टस जितेर बलिङ रोजेका हुन् ।

लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित गरेको थियो । दोस्रो खेलमा चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा पराजित गरेको थियो । बेंगलुरु ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
गुजरातले खेलेको २ खेल मध्ये १ मा जित र १ मा हारका साथ अंक तालिकाको चौथो स्थानमा छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रा खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।
बेंगलुरु र गुजरातबीच आइपिएलमा हालसम्म ५ खेल भएको छ । जसमा बेंगलुरु ३ खेलमा विजयी हुँदा २ खेलमा गुजरातले बाजी मारेको छ ।