• २०८३ बैशाख २६ गते शनिवार

फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध मजदुर वर्ग सचेत रुपमा लाग्नुपर्छ : प्रधानमन्त्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णुु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनकाविरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गर्नुभएको छ ।

काठमाडौँ, १८ वैशाख :
प्रधानमन्त्री ओली-सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओली एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)द्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस

एक सय ३६औँ अन्तरराष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज यहाँ आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गर्नुभयो ।

“फालिएको राजतन्त्र पक्षधरको अराजकता गत चैत १५ गतेको तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखियो । उनीहरुको प्रशंसा नगर्ने कलाकारको चलचित्र नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो– “यसमा श्रमजीवी वर्ग विगतमा झैँ सचेत हुनुपर्छ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेको उल्लेख गर्दै उहाँले रगत पसिना बगाएर लोकतान्त्रिक प्रणाली ल्याएकाले यसको रक्षा गर्ने बताउनुभयो । “हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लड्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डा राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ । हामी सङ्घर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेल, नेपाल उद्योग वणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस