• २०८३ बैशाख २७ गते आइतवार

पूर्वराष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकहरूलाई शुभकामना व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत श्रमिक वर्गप्रति सम्मान प्रकट गर्दै श्रम अधिकारको संरक्षण र श्रम क्षेत्रमा सुधारको आवश्यकता औंल्याउनुभएको छ।

भण्डारीले नेपालका सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै, अझै पनि अधिकांश श्रमिकहरू अनौपचारिक क्षेत्रमा कार्यरत रहेको र उनीहरूका न्यूनतम तलब, सामाजिक सुरक्षा तथा सुरक्षित कार्यस्थलजस्ता आधारभूत अधिकारहरू सुनिश्चित गर्न बाँकी रहेको बताउनुभएको छ ।

उहाँले विदेशमा कार्यरत नेपाली श्रमिकहरूलाई मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा चिनाउँदै उनीहरू अझै पनि शोषण र जोखिमको शिकार भइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ । साथै, देशभित्र बेरोजगारीको चपेटामा परेका युवा र विदेश पलायनको बढ्दो प्रवृत्ति, साथै महिला तथा घरेलु श्रमिकहरूको उपेक्षित अवस्था पनि उहाँको सन्देशको केन्द्रबिन्दुमा रहेको छ।
यस सन्दर्भमा उहाँले सरकार, रोजगारदाता र ट्रेड युनियनहरूबीच समन्वयात्मक पहल आवश्यक रहेको उल्लेख गर्दै मर्यादित श्रम, उचित पारिश्रमिक र सामाजिक सुरक्षासहित श्रमिक अधिकारहरूको सुनिश्चितता अत्यावश्यक रहेको धारणा राख्नुभएको छ ।

श्रमिकहरूको उज्ज्वल, सुरक्षित र मर्यादित जीवनको कामना गर्दै उहाँले मे दिवसको अवसरमा सम्पूर्ण श्रमिक वर्गलाई पुनः शुभकामना व्यक्त गर्नुभएकाे छ।

Sharing

प्रतिक्रिया दिनुहोस