पुस १७, काठमाडौं । इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेको छ । बुटवलको रामनगर खेलमैदानमा आज भएको उद्घाटन खेलमा पुलिसले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–१ को सेटमा हरायो ।

पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र चौथो सेट २५–१८ ले जित्यो । यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमीले तेस्रो सेट ३४–३२ ले जित्यो ।
प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी, पुलिस क्लबसहित त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब, गलकोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन गरी आठ वटा टोली सहभागी छन् ।
आजदेखि शुरू भएको प्रतियोगिता यही पुस २४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो हुने टोलीले सात लाख, दोस्रो हुने टोलीले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ७५ हजार सान्त्वना स्थान प्राप्त गर्ने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।