पुष १६, काठमाडौं । इथियोपियामा एउटा ट्रक नदीमा खस्दा ७१ जनाको मृत्यु भएको छ । दक्षिणी इथियोपियाको सिदामा क्षेत्रमा यात्रुहरूले भरिएको ट्रक नदीमा खस्दा ७१ जनाको मृत्यु भएको क्षेत्रीय प्रहरी आयोगलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

मृत्यु हुनेमा ६८ जना पुरुष र तीन जना महिला रहेका छन् । दुर्घटनामा बाँचेकाहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।
इथियोपिया विश्वमा सबैभन्दा धेरै गाडी दुर्घटना हुने देशको १९औं नम्बरमा छ । इथियोपियामा वर्षेनि झन्डै ३२ हजार मानिसको गाडी दुर्घटनामा मृत्यु हुने गरेका छ। प्रति एक लाख जनसंख्यामा ४२ जना गाडी दुर्घटनामा पर्ने गरेका खबरमा उल्लेख छ ।
खराब सडक, लापर्बाहीपूर्ण ड्राइभिङ, चालक अनुमतिपत्र जारी गर्ने त्रुटिपूर्ण प्रणाली र सुरक्षा नियमहरूको कमजोर कार्यान्वयनका कारण ठूला दुर्घटनाहरू बढिरहेका छन् ।