माघ १७, काठमाडौं । नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशलाई १७० रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भयो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए ।

यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो । कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए । गुल्शन झा, दीपक बोहरा दीपेश कँडेल र आकाश त्रिपाठी ३–३ रनमा र विपिन रावल २ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए ।
बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १-१ विकेट लिए ।