चैत्र १७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो।

२१ फागुनमा प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेपछि तीन नेताबीच पहिलो पटक छलफल भएको हो। प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो आयोजित एक कार्यक्रममा आफूले शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा देउवा र ओलीसँग छलफल गर्न लागेको बताएका थिए।
संवैधानिक आयोगका पदाधिकारी नियुक्ति सिफारिस गर्ने निकाय संवैधानिक परिषदको बैठक आइतबार बोलाइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषदमा प्रमुख प्रतिपक्षी दलको नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहन्छन्।