माघ १६, काठमाडौं । भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको सीपीआईमा सन् २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औं स्थानमा परेको छ । अघिल्लो वर्ष नेपाल ३४ अंकसहित ११० औँ स्थानमा थियो ।

‘गतवर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।
यसैगरी सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६औँ), भारतले ३९ (९३औँ) माल्दिभ्सले ३९ अंक (९३औँ), श्रीलंकाले ३४ अंक (११५औँ), पाकिस्तानले २९ अंक (१३३औँ), बंगलादेशले २४ अंक (१४९औँ) र अफगानिस्तानले २० अंक (१६२औँ) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक (७६औँ) प्राप्त गरेको छ ।