माघ १३, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएकी चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गर्नुभएको छ । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–चीनबीच पारस्परिक सहयोग, नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग र दुई पार्टीबीचको आपसी सम्बन्ध लगायत विषयमा कुराकानी भएको भेटमा सहभागी नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले बताउनुभयो ।

भेटमा सीपीसी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुनले नेपाल र चीनबीच पारस्परिक सहयोगका विभिन्न आयाममाथि चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने बताउनुभएको थियो । उहाँले चीनले गरेको आर्थिक विकासबाट नेपालले लाभ लेओस् भन्ने चाहना चीनको रहेको स्पष्ट गर्दै त्यसका लागि नेपालले प्राथमिकता निर्धारण गरेर विकास परियोजनाहरू अगाडि बढाउन सक्यो भने चीन सहयोग गर्न सदैव तयार रहेको बताउनुभएको थियो । भेटमा उपमन्त्री सुनले चीनका राष्ट्रपति सी चिनफिङले अध्यक्ष ओलीलाई पठाउनुभएको शुभकामना र सम्झना सुनाउनुभएको थियो ।
सो अवसरमा अध्यक्ष ओलीले नेपालको विकासमा छिमेकी मित्रराष्ट्र चीनले गर्दै भएको सहयोगको प्रशंसा गर्दै नेपालको विकासमा चीनले निरन्तर सहयोग गरिरहने छ भन्ने विश्वास रहेको बताउनुभयो । अध्यक्ष ओलीले नेपालले सधै एक चीन नीतिलाई कार्यान्वयन गर्दै आएको र नेपालको भूभागमा चीनविरूद्धका गतिविधिमा रोक लगाएको बताउनुभयो । उहाँले चीनले गरेको अभूतपूर्व विकासको प्रशंसा गर्दै चिनियाँ विकास अनुभवबाट नेपालको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूबीच दुई पार्टीबीचको सम्बन्धका विषयममा पनि कुराकानी भएको थियो ।
भेटमा अध्यक्ष ओलीका साथमा पार्टीका उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, सचिव अन्जान शाक्य र सदस्य गोपाल खनाल हुनुहुन्थ्यो । त्यस्तै चिनियाँ उपमन्त्री सुनका साथमा नेपालका लागि चीनका राजदूत चेन सोङ लगायत दूतावासका अधिकारीहरू सहभागी हुनुहुन्थ्यो ।