असोज ८, काठमाडौं । एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई हराएकाे छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दाेस्राे खेलमा बाग्मथी युथले सङ्कटालाई ३–१ गोलले हरायो ।

बाग्मती युथका लागि गिफ्टी एचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । सङ्कटाका लागि टेमिलोप जेनिफरले गोल गरिन् । यो जीतसँगै बाग्मती युथ ८ खेलमा १० अङ्कसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सङ्कटा क्लब ८ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ ।
एन्फा महिला लिगमा आज भएकाे पहिलाे खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाकाे वालिङ नगरपालिकालाई आठ–शून्य गाेलले हरायाे । यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।