• २०८३ बैशाख २८ गते सोमवार

महिला साफ च्याम्पियनसिप : बंगलादेशले भारतमाथि ३-१ को जित दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक ७, काठमाडौं। गोलकिपर रुपना चक्माले उत्कृष्ट प्रदर्शन गरेसँगै बंगलादेशले साफ च्याम्पियनसिप २०२४ मा भारतलाई पराजित गरेको छ। तोहुरा खातुनको दुई गोलसँगै बंगलादेशले भारतमाथि ३-१ को जित दर्ता गरेको हो।

पाँचपल्टको च्याम्पियन भारतको साफमा बंगलादेशसँग यो ब्याक टु ब्याक पराजय हो। यसअघि बंगलादेशले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामै भएको पछिल्लो संस्करणको समूहचरणको अन्तिम खेलमा ३-० को जित हात पारेको थियो। साफमा भारतको समग्रमा भने यो तेस्रो हार हो। सोही संस्करणमा रश्मिकुमार घिसिङको निर्णायक गोलमा भारत १-० ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।

भारतलाई पराजित गरेसँगै बंगलादेश समूह ए को विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ। बंगलादेशले दुई खेलबाट चार अंक पुर्‍यायो। भारत समान खेलबाट तीन अंकसहित अन्तिम चारमा प्रवेश गर्दा पाकिस्तान भने बाहिरिएको छ। पाकिस्तानले बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियो। तर, भारतसँग भने ५-२ ले पराजित हुनपुग्दा समूहचरणबाट स्वदेश फर्किन बाध्य भयो।

भारतले सुरुआती समयदेखि नै बंगलादेशलाई दबाबमा राख्ने प्रयास गरेको थियो। १९औं मिनेटमा बंगलादेशले सुरुआती अग्रता लियो। कप्तान सविना खातुनको कर्नरबाट आएको बललाई भारतीय गोलकिपर पानथोई चनुले पञ्च गर्दै बचाउने प्रयास गरेकी थिइन्। तर, राम्रोसँग क्लियर हुन नसकेको बललाई अफिदाले सिक्स यार्डनजिकबाट गरेको प्रहार टप कर्नरबाट गोलमा परिणत भयो।

खेलको ३० मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्न सफल भयो। लामो पासमार्फत आएको बललाई गोल लाइननजिबबाट तोहुराले जाली चुमाइन्। ४२औं मिनेटमा तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन्। सामसुनार जुनियरले मिलाइदिएको क्रसलाई तोहुराले पेनाल्टी बक्सनजिकबाट प्रहार गरेको बल सिधै जाली चुम्यो। लगत्तै बालादेवीले भारतका लागि पहिलो गोल फर्काइन्। डालिमा छब्बरको क्रसलाई गोलकिपर रुपनाले पञ्च गर्दै बचाउने प्रयास गरेकी थिइन्। राम्ररी क्लियर हुन नसकेको बललाई बालादेवीले हेडिङमार्फत गोल गरिन्।

Sharing

प्रतिक्रिया दिनुहोस