• २०८३ बैशाख ४ गते शुक्रवार

दक्षिणकाली माताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

आज वि.सं. २०८१ ज्येष्ठ १० गते बिहीवार तदनुसार ई. सं. २०२४ मई २३ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : साँझ ०६:१८ बजे र चन्द्रास्त : पूर्णिमा भएकाले रातभरि चन्द्रास्त हुँदैन, सूर्योदय : बिहान ०५:१३ बजे र सूर्यास्त : साँझ ०६:४९ बजे, वैशाख शुक्लपक्ष (वछलाथ्व) पूर्णिमा तिथि, साँझ ०७:०३ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, विशाखा नक्षत्र, बिहान ०९:१९ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुरा काट्नेले षड्यन्त्रको तानाबुना रच्न खोज्दैछन्, अझ परिवारका सदस्य र आफन्तको गतिविधिसमेत सन्तोषजनक नहुँदा खिन्नता बढ्ने परिस्थिति छ । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । कलात्मक विषयवस्तुमा आकर्षण बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
थोरै लाभका लागि समेत धेरै मिहिनेत गर्नुपर्ने परिस्थिति देखिन्छ । खासगरी इलेक्ट्रिकल, सञ्चार र धातुका कारोबारीको व्यवसाय उत्तम रहनेछ । मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । विवाद, प्रतियोगिता वा प्रतिस्पर्द्धामा सरिक हुँदा चुनौती झेलेर अघि बढ्ने समय हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दार्शनिक र धार्मिक प्रकृतिका काममा आकर्षण बढ्ने वा खट्ने दिन छ । घरबाट कुनै माङ्गलिक कर्म गर्ने सूचना आउनसक्छ, सम्पर्क गरी जानकारी बटुल्नु होला । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो, महत्त्वपूर्ण निर्णय लिनुअघि अनुभवी वा जानकार व्यक्तिको सल्लाह लिएर अघि बढ्नु होला । कामधन्दामा एक्लै खट्नुपर्ने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । साथीभाइ र इष्टमित्रसँग हाँसखेल र कुराकानी गर्ने दिन हो । रामरमाइलोमा दिन बित्नेछ । कुनै सामाजिक वा परोपकारी काममा दिलचस्पी जाग्नेछ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आन्तरिक क्षमताको प्रयोग गरी वा मुख र हाउभाउकै माध्यमबाट कुनै विशेष अवसर फुत्काउन सक्नुहुन्छ, अतिरिक्त आम्दानीका लागि मिहिनेत गर्ने दिन हो । एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । जुनियर स्टाफ वा सहयोगीको साथ पाउनाले कार्यसम्पादनमा सहजता आउने छ, सामूहिक भावनाको विकास हुने तथा सम्मानित र प्रतिष्ठित बन्नसक्ने समय छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस