माघ ७, काठमाडौं । काठमाडौंको शोभा भगवतीमा गत कात्तिकमा महिलाको हत्या गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तनहुँको भिमाद घर भएकी सफिना मियाँको हत्या गरी फरार भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारीलाई सार्वजनिक गरेको हो।

शोभा भगवतीस्थित सरिता गिरीको दुई तले घरको भुइँ तला तीन महिनादेखि बन्द रहेकोमा धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो। शव गलेको अवस्थामा रहेकाले तीन महिनाअघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए। प्रहरीका अनुसार सफिना मियाँको हत्या गरी इकरामुल भारत भागेका थिए। त्यसपछि काठमाडौं फर्केका इकरामुललाई कालिमाटीबाट पक्राउ गरिएको खत्रीले बताए।
काठमाडौं आएर कालिमाटीस्थित दिलीप साहको बिएन फेसन गार्मेन्टमा काम गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लिभिङ टुगेदरका क्रममा आपसी वादविवाद भएपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ। हत्या गरेपछि ढोकामा ताला लगाएर उनी भागेको प्रहरीले जनाएको छ।
खत्रीका अनुसार ५१ वर्षीया सफिना तनहुँ भिमाद नगरपालिकाकी थिइन्। सफिना एक वर्षअगाडिदेखि उक्त घरमा डेरामा बस्दै आएकी थिइन्। उनीसँग अन्सारी सँगै बस्दै आएका थिए। खत्रीका अनुसार घर परिवारसँग राम्रो सम्बन्ध नभएकाले विवाहित भए पनि सफिना करिब एक वर्षदेखि काठमाडौंमा अन्सारीसँग बस्दै आएकी थिइन्। अन्सारी पनि विवाहित हुन्। परिवारसँग बेमेल भएपछि उनी भारतबाट नेपाल आएर विगत ८-९ वर्षदेखि गार्मेन्टमा काम गर्दै आएका थिए।
सँगै बस्दै आएकोमा तीन-चार महिनाअघिदेखि अन्सारी र मियाँबीच व्यक्तिगत कुरामा समय-समयमा विवाद हुने गरेको थियो। अन्सारीले मदिरा सेवन गरेको समयमा वादविवाद गर्ने गरेका थिए। यसक्रममा उनले मियाँको मोबाइलसमेत फुटाइदिएका थिए। अन्सारी जुन गार्मेन्टमा काम गर्थे, उनकै कमाइमा मियाँ आश्रित थिइन्।
माघ ३ गते घरधनीले कोठा खोलेर हेर्दा शव फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले अनुसन्धान सुरू गर्दा यो घटना कात्तिकको पहिलो हप्ता घटेको फरेन्सिक रिपोर्टले देखाएको छ।
दिनहुँ झगडा हुन थालेकोमा त्यसदिन अन्सारी राति मदिरा सेवन गरेर कोठा पुगेका थिए। कोठामा पुग्दा राति ९ बजेको थियो। त्यसदिन उनले मियाँले बनाएकै खाना खाएर सुते। सुतेपछि अन्सारीले मियाँको हत्या गर्ने योजना बनाए। रातैभरि दुबै जनाबीच विवाद भइरहेको थियो। बिहानीपख करिब ३-४ बजे अन्सारीले कोठाको आग्लोले मियाँलाई हिर्काए। शरीरको विभिन्न भागमा आग्लोले हिर्काउँदा मियाँ गम्भीर घाइते भएकी थिइन्। त्यसपछि उनले मियाँकै सलले घाँटीमा बेरेर हत्या गरे। त्यही सलले मुख छोपेर शव खाटमुनि धकेलेर कोठाबाट भागे। प्रहरीले पक्राउ गर्ने डरले उनले ढोकामा ताला लगाए। चाबी कोठाबाट बाटोतिर जाने झ्याङमा फाले र बल्खुतर्फ हिँड्दै गए। बिहान करिब ६-७ बजे उनी बल्खु पुगे। त्यहाँबाट वीरगन्ज जाने सुमो चढे।
वीरगन्जबाट रक्सौल, गुजरात, लखनउ हुँदै भारतका विभिन्न स्थानमा पुगेर दुई महिना लुके। तर, उक्त हत्याबारे उनले आफ्ना साथीभाइसँग सोधिरहन्थे। प्रहरी तिनै उनका साथीभाइसँगको कन्ट्याक्ट पछ्याउँदै गइरहेको थियो। जब पुन: उनी काठमाडौंमै आएर काम गर्न थालेको सूचना आएपछि प्रहरी टोली पक्राउ गर्न पुगेको थियो। अन्सारीविरूद्ध कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।