असोज १, काठमाडौं । प्रहरीले लागुऔषध ट्रामाडोल दुई हजार पाँच सय ७० ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने २९ वर्षीय दीपेश लुइँटेल, सुनसरी इटहरी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३५ वर्षीय नितेश पाण्डे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–३२ वडा एरियामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले निजहरूलाई जडिबुटीस्थित एक होटेलबाट पक्राउ गरेको हो ।” निजहरूमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।