आज वि.सं. २०८१ आषाढ ०३ गते सोमवार तदनुसार ई. सं. २०२४ जुन १७ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५. चन्द्रोदय : दिउँसो ०२:२७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:४१ बजे, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) एकादशी तिथि, भोलि बिहान ०४:४८ बजेसम्म, त्यसपछि द्वादशी तिथि, चित्रा नक्षत्र, दिउँसो ०१:०० बजेसम्म, त्यसपछि स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । मन हलुका र शरीर तन्दुरुस्त देखिन्छ, काम छाडेर गफगाफमा भुलिन सक्नुहुन्छ, तर रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनुपर्ने दिन हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
देखिएका बाधा÷अड्चन हटाउन तथा शत्रुदमन गर्न प्रयास गर्ने समय हो । घरपरिवारबाट पनि शुभ र सुखद समाचार प्राप्त हुनेछन् । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आन्तरिक प्रतिभाको प्रस्फूटन हुने राम्रो दिन छ, कला र साहित्यप्रति झुकाव छ भने फुरेको विषयवस्तु टिपोट गर्नुहोला, भविष्यमा काम लाग्नेछ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पर्द्धा वा परीक्षामा सफल भइने समय हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । घरिघरि मानसिक उल्झन र तनावबाट ग्रसित रहनु पर्नेछ । सुखसुविधा, भोगविलास र सँगीसाथीहरूसँग भुलिनाले गर्नैपर्ने कुनै काममा अवरोध हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना रोगव्याधिको भय र हलुका दुर्घटना हुने सम्भावना छ । जोखिमपूर्ण र जुवाजन्य काममा दिलचस्पी राख्नु हानिकारक बन्नसक्छ । उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो । सबै कार्य योजनानुसार सम्पन्न हुँदै जानेछन्, आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ, पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । धार्मिक÷सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नियम÷कानूनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलचस्पी राख्नु हुँदैन, साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । आफ्नै वा आत्मीय जनको स्वास्थ्यस्थिति कमजोर बन्नाले तनाव उत्पन्न हुनसक्ने समय छ ।