फागुन ५, काठमाडौं । साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेका छन् । महिला फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका पदाधिकारीले बिदाइ गरेका हुन ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्य टोलीमा डिफेन्डर सबिना चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । आगामी फागुन ७ गतेदेखि हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ ।
नेपालको समूहमा प्यालेस्टाइन, इराक र सिरिया छन् । समूह ‘ए’मा आयोजक साउदी अरेबियासहित गुआम, लेबनान र जोर्डन छन् । नेपालले पहिलो खेल फागुन ८ गते सिरियासँग, १० गते इराकसँग र १२ गते प्यालेस्टाइनसँग खेल्नेछ ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।