आज वि.सं. २०८१ ज्येष्ठ ३१ गते बिहीवार तदनुसार ई. सं. २०२४ जुन १३ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४५, चन्द्रोदय : दिउँसो ११:०२ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:०४ बजे, सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५८ बजे, ज्येष्ठ शुक्लपक्ष (तछलाथ्व) सप्तमी तिथि, बेलुका ०९:१८ बजेसम्म, त्यसपछि अष्टमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, (अहोरात्र व्याप्त) चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नैराश्य र एकोहोरोपन बढ्नसक्छ, कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । भेटघाट र कुराकानीका निमित्त समय र स्थान छनौट गर्न निकै गोपनीयता अपनाउनु होला, किनभने आज चियोचर्चो गर्नेले तनावमा बृद्धि गर्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । बोली र व्यवहारले धेरैलाई आकर्षित तुल्याउने समय हो । दोहोर्याएर काम गर्नु परे पनि नतिजा लाभदायक नै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कार्यक्षेत्रमा आफैं खटेको जाती हुन्छ, सहयोगीले विश्वासघात गर्ने समय हो, असचेत हुँदा व्यापारमा अचानक मन्दी छाउने सम्भावना देखिन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ काम सुरु गर्ने समय छ, बोनस वा अतिरिक्त आम्दानी हातलागी हुनाले सँगीसाथीसँग रमाइलो गर्न मन हौसिने छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । प्रयासमा सफलता प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । प्रतिष्ठा गुम्ने दुर्घटनामा फँस्न सक्नुहुन्छ । स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन, तर अचानक धनलाभ हुने सम्भावना छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घुमघाममा निस्कने वा एकान्तमा बसेर रमाउन पाइने सुन्दर दिन छ, लवमेटको खोजीमा हुनुहुन्छ भने नयाँ प्रस्ताव आउने छ । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, त्यसैले परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्छ, बहस वा तर्कवितर्कमा विजयी भइने छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।