• २०८३ मङ्सिर ४ गते बिहिवार

झापा गोल्डकप फुटबल : एपीएफलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन २८, झापा । चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ । सोमबार भएको फाइनल खेलमा विभागीय टोली सश्स्त्र प्रहरी बलको एपीएफलाई ३–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाईज प्रतियोगिताको नयाँ च्याम्पियन बनेको हो ।

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक गोल गरे । चर्च ब्वाइज पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो । चर्च ब्वाइजले उपाधि सहित १३ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको एपीएफ भने उपविजेता बन्दै सात लाखमा चित्त बुझाउन बाध्य भयो ।

खेलको १२औं मिनेटमा फकुन्लेले पहिलो गोल गरे । गोलकिपर एन्जल श्रेष्ठ अगाडि बढेको अवस्थामा फकुन्लेले चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका हुन् । दोस्रो गोल ७२ औं मिनेटमा मध्यभागबाट बल अगाडि बढाउँदै फकुन्लेले गोलकिपर एन्जललाई बिट गरेर सुन्दर गोल गरेका हुन् । तेस्रो गोल ८७ औं मिनेटमा विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी राजेश परियारले फकुन्लेको सुन्दर पासमा गरे । खेलको म्यान अफ द म्याच बिजेता टिम चर्च ब्वाइजका सुरजज्यू ठकुरी भए । उनले नगद ११ हजार रुपैंयाँ पुरस्कार पाए ।

विधागत पुरस्कारमा पनि चर्च ब्वाइजको बर्चस्व रह्यो । चर्च ब्वाइजका दीप कार्की उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर चर्च ब्वाइजका सर्ज डिका, उत्कृष्ट फरवार्डसँगै उच्च गोलकर्ताको पुरस्कार अवयोमी फकुन्लेले पाए । एपीएफका शरण बस्नेत उत्कृष्ट मिडफिल्डर भए । यस्तै, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका अध्यक्ष रुवेन राई भए । उदयमान खेलाडी झापा ११ का कप्तान पेमा तामाङ भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कार पाए । गोल्डकपको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका डिफेण्डर सञ्जित राई भए । उनले एक थान यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

विजेता तथा उपविजेता टिम र खेलाडीलाई प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए । फागुन १९ गतेदेखि सुरु भएको छैटौं झापा गोल्डकपमा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस