आज वि.सं. २०८० माघ २५ गते बिहीवार तदनुसार ई. सं. २०२४ फेब्रुवरी ०८ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५. चन्द्रास्त : साँझ ०४:१५ बजे र चन्द्रोदय : भोलि बिहान ०४:३६ बजे, सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:४७ बजे, माघ कृष्णपक्ष (पोहेलागा) त्रयोदशी तिथि, बिहान ०९:२८ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०१:४३ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा धनु राशिमा, बिहान ०८:३६ बजेसम्म, त्यसपछि मकर राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
घरपरिवारमा सानातिना कुरामा वैचारिक मतभेद वा विवाद भइरहन्छ, तर पनि आज सबैले तपाईंकै रुचिअनुसार व्यवहार गर्ने समय छ । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ । काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने समय छ । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो । लामो समयदेखि मनमा उठेका विषयवस्तुको परिपूर्ति गर्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो । तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने राम्रो दिन छ, तर आज कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनोरञ्जनात्मक समय हो, पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा सम्बन्ध/सम्पर्क बढ्नेछ । साझेदारीको कुनै काम छ भने त्यसमा समेत लाभ हुनेछ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचार/विमर्शमा खाडल सिर्जना हुनेछ । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ, आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूणर् उपलब्धि लिन सकिने छ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन् ।