आज वि.सं. २०८० पौष २१ गते शनिवार तदनुसार ई. सं. २०२४ जनवरी ०६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रास्त : दिउँसो ०१:३० बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:३४ बजे, सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:२२ बजे, पोखरा, पौष कृष्णपक्ष (थिल्लागा) दशमी तिथि, बेलुका ०९:०० बजेसम्म, त्यसपछि एकादशी तिथि, स्वाती नक्षत्र, बेलुका ०६:३१ बजेसम्म, त्यसपछि विशाखा नक्षत्र, चन्द्रमा तुला राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ साथी बनाउन पाइने तथा नौलो विषयको जानकारी बटुल्ने दिन हो, मित्रवर्ग र सँगीसाथीको सहयोगमा नजानेको कुनै विषयको ज्ञानसमेत पाउन सकिन्छ । सरल व्यवहारको प्रदर्शन गर्दा लाभ हुनेछ, मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूर्ण निर्णय लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निर्णयले भाग्यको ढोका उघ्रिने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । मौसमी रोगको सामान्य जोखिम छ, सचेत हुँदै कार्यक्षेत्रमा खट्ने समय हो, व्यक्तिगत प्रतिष्ठा र सम्मान पाउन सकिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
पारिवारिक वातावरण ठीकै छ, तर छोराछोरीको इच्छा बुझेर काम गर्ने हुँदा बजेट डगमगाउने तथा पारिवारिक जीवनमा मनोमालिन्य बढ्नसक्ने समय छ । पठनपाठन र सीप देखाएर भाग्य चम्काउने समय हो । सिनियर विद्यार्थी वा गुरुजनको सहयोग पाउनाले आत्मबल र हौसलामा समेत बृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । भ्रम र महत्त्वाकाङ्क्षामा अलमलिनाले चाहिंदा÷नचाहिंदा काम गर्ने मनसाय बन्नसक्छ । उता विपरीत लिङ्गीसँगको सम्बन्धमा समेत चिसोपन आउनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सोच्दै नसोचेको विषय वा क्षेत्रमा मन केन्द्रित हुनेछ । पढाइ छाड्ने वा फ्याकल्टी नै फेर्ने नकारात्मक सोचसमेत पलाउन सक्छ । हरेक क्रियाकलापमा आर्थिक पक्ष बाधक बन्ने दिन हो । ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु होला, गरेका प्रयास र उद्यममा अलिबढी सङ्घर्ष र चुनौती झेल्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जुनियर स्टाफ वा सँगीसाथीको क्रियाकलापले तपाईंको चिन्ता बढ्नसक्छ, तथापि आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो, उन्नतिपथका हरेक विघ्नबाधा पन्छाउँदै एउटा छुट्टै पहिचान कायम राख्न सफल भइने छ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मुख चलाएर काम गर्ने पेसाका मानिसहरू जस्तै वकिल, शिक्षक, प्राध्यापक वा प्रवचनकर्ता पण्डित आदिले प्रशस्त लाभ पाउनु हुनेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पर्द्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रु वा प्रतिद्वन्द्वीको चाकरी गरेर आफ्ना स्वार्थ पूरा गर्नुपर्ने बाध्यता देखिन्छ । आज कारणवश लुक्नुपर्ने वा मोबाइल स्वीचअफ गर्ने परिस्थिति सिर्जना हुनेछ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ ।