• २०८३ जेष्ठ २३ गते शनिवार

आइसीसी टी-२० विश्वकप एसिया छनोट : हङकङ १६ रनले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १३, काठमाडौं । मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङले कुबेतलाई १६ रनले पराजित गरेको छ। हङकङले दिएको एक सय ६७ रनको लक्ष्य पछ्याएको कुबेत निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५० रनमा समेटियो।

पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६६ रन बनायो। उसका लागि मार्टिन कोट्जीले सर्वाधिक ८१ रन बनाए भने बाबर हयातले ३१ र निजाकत खानले २५ रनको योगदान दिए।

कुबेतका लागि सैयद मुनिवले दुई तथा मोहम्मद साफिक, मोहम्मद अस्लम र सिराज खानले एक/एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कुबेतको सुरुआत खराब रह्यो। उसले चौथो ओभरमै सुरुआती तीन विकेट गुमाएपछि दबाबमा पर्‍यो। उसका लागि उसमान पटेल र मोहम्मद अस्लामले पारी सम्हाल्ने प्रयास गरे पनि जीतका लागि भने पर्याप्त भएन। अस्लामले ५२ र पटेलले २९ रन बनाए। यी दुवैले चौथो विकेटका लागि ६८ रनको साझेदारी गरे। कुबेतका लागि विलाल ताहिरले ३६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

हङकङका लागि अजिज खानले तीन, एहसान खान र आयुष शुक्लाले दुई/दुई विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस