• २०८३ बैशाख ३१ गते बिहिवार

आइसीसी टी-२० विश्वकप एसिया  : ओमान ३२ रनले विजयी 

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १३, काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा ओमान र मलेसियाबीचको खेलमा ओमान ३२ रनले विजयी भएकाे छ। ओमानले जितका लागि दिएको एक सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २१ रनमा समेटियो।

 

मलेसियाका लागि वीरनदीप सिंहले ५३ बलमा २ चौका र दुई छक्कासहित ५७ रनमा अविजित रहे। त्यस्तै जुबैदी जुल्फिकीले १४, अहमद फैजले १३ तथा स्याजरुल एजात इद्रुसले १० रन बनाए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

ओमानका लागि बिलाल खान र जिशान मकसुदले समान दुई/दुई विकेट लिए भने फयाज बट, सकिल अहमद, आयन खान र अकिब इलियासले समान एक/एक विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशान मकसुदले पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५६ रनको योगदान दिए। त्यस्तै मोहम्मद नदीमले ११ बलमा दुई चौका र एक छक्कासहित २१ रन बनाउँदै अविजित रहे। ओपनर कश्याप प्रजापतिले २५, प्रतीक अथवले १२, अकिब इलियासले आठ, शोएब खानले चार तथा मेहरान खान १५ रन बनाए।

मलेसियाका विरनदीप सिंहले तीन विकेट लिए भने पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले समान एक/एक विकेट लिए।

Sharing

प्रतिक्रिया दिनुहोस