• २०८३ जेष्ठ १० गते आइतवार

टि२० विश्वकप छनोट : नेपालको विजयी सुरुवात, सिंगापुरलाई ८ विकेटले पराजित

खबर24नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १३, काठमाडौं । नेपालले आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।

सिंगापुरले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धशतक पारी खेले । उनले ४८ बलमा ८ चौका र २ छक्काको मद्धतमा सर्वाधिक ७४ रनको योगदान गरे । उनलाई सुरुवातमा राम्रो साथ दिएका अर्का ओपनर आसिफ शेख २ चौका र १ छक्का प्रहार गरेर २७ रन जोड्दै आउट भए । कप्तान रोहित पौडेलले ३५ रन बनाए । कुशल मल्ल ६ रनमा नटआउट रहे ।

सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले एक-एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको थियो ।

सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले ४५ रन बनाए । मनप्रित सिंहले २४ रनको योगदान गर्दा आर्यवीर चौधरीले ३७ रन जोडे। अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहे । नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई—दुई विकेट हात पारे ।

Sharing

प्रतिक्रिया दिनुहोस