• २०८३ बैशाख १९ गते शनिवार

टीकापुर घटनाका राजबन्दीहरुलाई छिट्टै रिहाई गर्न रेशम चौधरीको माग

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ १५, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले टीकापुर घटनाका राजबन्दीहरुलाई छिट्टै रिहाई गर्न माग गरेका छन् । रिहाई पश्चात गृह जिल्ला कैलाली पुगेका उनले धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाई गर्न असोज ३ नै पर्खिनु नपर्ने भन्दै रिहाईको माग गरेका छन् ।

उनले भने, टीकापुर घटनाका राजबन्दीहरुलाई म जस्तै छिट्टै रिहाई गरियोस र यसका लागि असोज ३ नै पर्खिनु पर्दैन् । प्रधानमन्त्री तपाईले एक हप्ता, दुई हप्ता जति सक्दो छिटो कारागारबाट रिहाई गर्नुपर्छ । जसले जे लेख्यो त्यही नै यथार्थ सत्य पनि होईन्, सत्य खोज्न धरातलमा नै पुग्नुपर्छ । टीकापुरवासीलाई टीकापुर घटनाको पीडा थाहा छ । ’ उनले टीकापुर घटना दुर्भाग्यपूर्ण घटना भएको भन्दै राज्यले उच्चस्तरीय छानबिन आयोग गठन गरेर धरातलमा गएर यो घटनाको छानविन गर्नुपर्ने बताए ।

चौधरीले टीकापुर घटनाको कथा एउटा र फिल्म अर्कै बनेको भन्दै यस्को वास्तविकता अहिले सुनिएको र भनिएको भन्दा फरक भएको टिप्पणी गरे । चौधरी ६ वर्ष पछि आज बिहान जेलमुक्त भएका हुन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त भएका हुन् । रेशमलाई डिल्लीबजार सदरखोरबाट उनका बुबा लालबीरको जिम्मा लगाएर पठाइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस