फागुन १६, काठमाडौं । राष्ट्रपति पदमा मनोनयन दर्ता गराएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले तयारी गरेको छ। राष्ट्रपतिको निर्वाचनका लागि शनिबार कांग्रेसका नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उमेदवारी दर्ता गराएका छन्।

उम्मेदवारले चाहेमा आज ४ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। त्यसपश्चात अन्तिम नामावली प्रकाशन हुनेछ। आयोगको निर्वाचन कार्यतालिका अनुसार फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।
राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी ८८२ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।
राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ। मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने साँझ ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ। निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछ। त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ। त्यस्तो मतदानमा कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन्।
बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कूल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनःमतदान हुनेछ। त्यस्तो मतदानमा खसेको कूल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछ।
संविधानको धारा ६२ को उपधारा (६) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद रिक्त हुने व्यवस्था छ।