आज वि.सं. २०८० भाद्र १० गते आइतवार तदनुसार ई. सं. २०२३ अगस्ट २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, नेपालमा सूर्योदय : बिहान ०५:३९ बजे र सूर्यास्त : साँझ ०६:३० बजे, चन्द्रोदय : दिउँसो ०२:३७ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:०८ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) एकादशी तिथि, साँझ ०५:०७ बजेसम्म, त्यसपछि द्वादशी तिथि, पूर्वाषाढा नक्षत्र, मध्यरात्रीपछि ०२:३२ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजन र उच्चपदस्थ व्यक्तिहरूबाट समर्थन र सहयोग जुटाउन सकिने छ, बलियो भाग्यबल रहेको छ । हाँके÷ताकेका हरेक क्रियाकलापमा सफलता पाउन सक्नुहुन्छ । असम्भव आशाका पछि लाग्ने हुँदा उल्टै नोक्सानी हुनेछ । आज कालीगढी, मरम्मतसम्भार, काठपात, प्लास्टिक र रबरसम्बन्धी कारोबारमा राम्रो हुन्छ । धर्मकर्म वा परोपकारी काममा खट्नु पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ । दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । मन फुरुङ्ग हुने दिन छ । गीतसङ्गीत एवं ललितकलाका अन्य विषयहरूमा तथा सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्नेछ । आम्दानीका दृष्टिले कमजोर समय छैन, तर मन भावुक र चञ्चल बन्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मनमा लुकेका भ्रम र चिन्ता बाहिरिने समय हो, अनावश्यक चिन्तामा रुमल्लिने हुँदा अपेक्षा गरेअनुरूप समयमा काम सिध्याउन मुस्किल पर्ला । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार÷विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । कल्पना र भावना साकार हुने दिन हो । आफ्ना कुरा थोपर्नेमात्र होइन, लवमेटका कुरा सुनेमा पनि सन्तुष्टि लिन सकिने छ । आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । नसोचेको धन प्राप्त हुने वा कतैबाट ऋण÷सापटीमा रकम उठाउने समय हो, तर धनको स्थिरता र वचतमा ध्यान दिनु आवश्यक देखिन्छ । प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिने समय हो ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ । धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आध्यात्मिक वा दार्शनिक विषयवस्तुप्रति मोह जाग्नेछ, नजानेको कुनै सीपका बारेमा समेत जानकारी बटुल्न सकिने छ, प्रयास गरेको काममा सफलता मिल्नेछ । सोचेभन्दा बढी धन कमाउने चाँजो मिल्नेछ, तर इज्जत धान्न वा आडम्बर देखाउने क्रममा धन खर्च गर्नसमेत मन हौसिने परिस्थिति छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यवस्थापकीय कमी कमजोरी हटाउन प्रयास गर्ने दिन हो, नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ । सम्बन्धलाई बलियो बनाउन मायाका दुई अक्षर र एउटा मुस्कानमात्र प्रशस्त हुन्छ, त्यसैले जे गर्नुहुन्छ, मनैदेखि गर्नुहोस्, दिन राम्रो बन्नेछ । आफ्नो रुचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यवस्थापन पक्ष र सहयोगी कामदारसँगको तालमेल कायम राख्न सफल भइने छ, नयाँ प्रविधिको प्रयोग गरेमा उत्पादनमा बृद्धि हुनसक्छ । सुखशान्ति र आनन्दकै वातावरण रहेको छ, आज व्यवहार गर्दा कर्तव्य र मर्यादाप्रति सचेत रहनुपर्ने समय हो, नत्र कताकता मनमुटाव सिर्जना हुनसक्छ ।