• २०८३ बैशाख ३० गते बुधवार

मनकामनामाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

आज वि.सं. २०८० वैशाख १४ गते बिहीवार तदनुसार ई. सं. २०२३ अप्रिल २७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:३० बजे र सूर्यास्त : साँझ ०६:३४ बजे, चन्द्रोदय : दिउँसो ११:२० बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:१२ बजे, वैशाख शुक्लपक्ष (वछलाथ्व) सप्तमी तिथि, दिउँसो ०१:३२ बजेसम्म, त्यसपछि अष्टमी तिथि, पुनर्वसु नक्षत्र, बिहान ०७:१३ बजेसम्म, त्यसपछि पुष्य (तिष्य) नक्षत्र, चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । आवेगहरूमा नियन्त्रण गर्न नसक्नाले निराशा र खिन्नताको अनुभूति हुनसक्छ, अतः आफ्ना लागि समय प्रदान गर्नु र चिन्तन गरी वर्तमान समस्याको हल गर्ने प्रयास गर्नु उपयोगी हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नयाँ प्रविधिको प्रयोगले ज्ञान र क्षमतामा बृद्धि हुनेछ, अझ कलात्मक विषयमा रुचि छ भने वरिष्ठ कर्मचारीलाई समेत प्रभावित तुल्याउन सकिने छ । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । उधारो दिन वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला । कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
महत्त्वाकाङ्क्षा र अदम्य उत्साह जाग्ने दिन हो । अल्छीपन बढ्न सक्छ, तर याद गर्नुहोला, कल्पना गरेरमात्र केही पनि हुँदैन, प्रतिफल प्राप्त गर्न मज्जाले खट्नुपर्ने हुन्छ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामर्थ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित बन्नाले काममा निष्ठाको कमी हुनेछ । सिनियर्स वा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । हिसाबकिताब र लेनदेनमा सतर्कता अपनाउनु होला, गल्ला र सेफको सुरक्षामा समेत ध्यान दिनुपर्छ । नयाँ लगानी हो भने सोचेर कदम चाल्नुहोला । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्पर्द्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन छ, सकेसम्म आफ्नो कुरा एवं विचारलाई तर्कसङ्गत रूपले राख्न सकेमा पार्टनरले तपाईंको मनोभाव र विचारको कदर गर्नेछन् । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । दिकदारी र चिडचिडेपन बढ्ने समय हो । शरीरमा थकान र अस्वस्थता देखिए पनि कामबाट फुत्कने र आराम गर्ने अनुकूलता मिल्दैन, तर मनले नमानेको कामकुराबाट टाढा नै रहेको जाती हुन्छ । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । कलात्मक विषयवस्तुमा आकर्षण बढ्नेछ । आफैं पनि गीतसङ्गीत, चित्रकला, फोटोग्राफी वा कुनै कलाप्रति झुकाव राख्नुहुन्छ भने राम्रो गर्ने समय हो । कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । आफ्ना विरोधी र शत्रुहरूप्रति अनुदार र उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । बौद्धिक क्षेत्र, चिन्तनमनन र दार्शनिक विषयमा सक्रियता देखाउने समय हो, आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस