• २०८३ कार्तिक ४ गते मङ्गलवार

नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन १२, काभ्रेपलाञ्चोक। नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती कुसुम लता सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३९औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ । उक्त अवसरमा सङ्घकी अध्यक्ष सिंहले विद्यालयको वार्षिक म्यागजिन ‘दीपिका’ ३२औं अङ्कको लोकार्पण गर्नुका साथै विद्यालयमा स्थापित २३ वटा अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा ६४ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।

साथै उहाँले विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न विज्ञान तथा कला प्रदर्शनीको अवलोकनसमेत गर्नुभयो ।

कार्यक्रममा सङ्घकी अध्यक्ष सिंहले देश भरिका विद्यालय शिक्षाको क्षेत्रमा नेपाल प्रहरी विद्यालयको छुट्टै स्थान र गरिमा रहेको चर्चा गर्दै नेपाल पुलिस स्कुल साँगाले किताबी ज्ञानमा मात्रै सीमित नभई अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै आएको बताउनुभयो । प्रतिभावान् र कर्मठ नागरिक उत्पादन गरी मुलुकको विकासमा टेवा पुर्‍याउन विद्यालयले ठूलो भूमिका खेल्ने उल्लेख गर्दै उहाँले प्रहरी विद्यालयले पनि आफ्नो भूमिकालाई अझ बढी गतिशील र प्रभावकारी बनाउदै जाने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । सोही अवसरमा विद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक तथा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारीहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, स्थानीय जनप्रतिनिधिहरु, अभिभावकहरुसमेतको उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस